पूर्वाञ्चल गोल्डकपमा झापा ११ सहित आठ टिम भिड्ने

झापा, असोज ६ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा असोज ११ गतेदेखि हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी टिमको निश्चित भइसकेको आयोजकले जनाएको छ ।
आयोजक जायोन स्पोर्टस् क्लबले आज सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै भारतका २, नेपालका ए डिभिजनका ४ र मोफसलका २ टिमको टुंगो लागिसकेको जनाएको हो । आयोजकका प्रवक्ता अविनाश राईले उद्घाटन खेल भारतको सिक्किम आक्रामक र संकटा क्लबबीच हुने बताए । झापा ११ ले दोस्रो क्वाटरफाइन खेलमा नेपाल पुलिस क्लबको सामना गर्ने खेल तालिका नै सार्वजनिक गरिसकिएको उनको भनाइ छ ।
आयोजक क्लबका सचिव महेन्द्र पाण्डेका अनुसार गोल्डकपमा २ भारतीय टिमसँगै नेपालका ४ वटा ए डिभिजन क्लब र मोफसलका २ क्लबबीच भिडन्त हुनेछ । उनका अनुसार विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, संकटा, थ्री स्टार क्लब छन् भने झापा ११ र गोर्खा ब्वाइज रुपन्देही पनि गोल्डकपमा सहभागी छन् । त्यस्तै, सिक्किम आक्रामक र असामको मोलवे फुटबल क्लब विदेशी टिमका रुपमा रहेका छन् ।
गोल्डकपको तयारी अन्तिम भएको जनाइएको छ । गोल्डकप विजेता टोलीले १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार पाउनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार नगद पाउँदा फाइनल खेलको म्यान अफ दी म्याच खेलाडीले २५ हजार पाउने आयोजकका प्रवक्ता राईले बताए ।
उनका अनुसार विधागत तर्फ ७ वटा पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले जनही १५÷१५ हजार पाउने उनले जानकारी दिए । म्यान अफ दी टुर्नामेन्टलाई पनि पुरस्कारको व्यवस्था गरिए पनि पुरस्कारबारे केही खुलाइएको छैन ।
यसैबीच, गोल्डकपले मुख्य प्रायोजकको रुपमा बिर्तामोडको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको साथ पाएको छ । क्लबसँगको प्रायोजनबारे पनि आयोजकले केही खुलाएको छैन ।
क्लबका सदस्य गौरीमान राईले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार हिमाल किराँती र अन्नपूर्ण साकोसका प्रतिनिधि सन्तोष दाहालले गोल्डकपका बारेमा बोलेका थिए ।
न्युज२४ बाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता