'के हो सेल्फ क्वारेन्टाइन ?', कसरी बस्ने ?

नोभल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशङ्कामा बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरिज ‘सेल्फ क्वारेन्टाइन’ मा छिन् । इटालीमा क्लब फूटबल खेलिरहेका चर्चित खेलाडी रोनाल्डोसहित युभेन्टस्का अधिकांश खेलाडी, अमेरिकाका तल्लो सदनका सांसद् लगायत केही चलचित्रकर्मी पनि सेल्फ क्वारेन्टाइनमा छन् ।
इटालीले आफ्ना ६ करोडभन्दा बढी नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । इटालीसहित अष्ट्रेलिया र दक्षिण कोरियाले सेल्फ क्वारेन्टाइनको निर्देशन पालन नगर्नेलाई दण्ड गर्ने कानून बनाएको छ । हाम्रो देशमा भने समूहमा भेला भएर गरिने क्रियाकलापलाई निषेध गर्न अनुरोध मात्र गरिएको छ । यस्तो वेला हामी आफैं सचेत भए संक्रमणको जोखिम कम गर्न सकिन्छ ।
संक्रमणको शङ्का भएको तर, स्वस्थ व्यक्तिले स्वयंलाई अन्य व्यक्तिबाट अलग राखेर संक्रमण फैलिने सम्भावना न्यूनीकरण र रोगको सहज पहिचान गर्ने व्यक्तिगत पहल नै सेल्फ क्वारेन्टाइन हो । त्यस्ता व्यक्ति आफ्नै घरभित्र वा निश्चित कोठामा, तोकिएको समयसीमा (कोभिड–१९ को शङ्कामा १४ दिन) अलग्गै बस्नुपर्छ ।
पछिल्लो समय प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिलाई आफू सेल्फ क्वारेन्टाइनमा बसेको जानकारी गराउनुपर्छ । यसका लागि सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ । क्वारेन्टाइन अवधिमै संक्रमण देखिए त्यसको पनि जानकारी गराउनुपर्छ ।
सेल्फ क्वारेन्टाइनमा रहेको १४ दिनभित्र ज्वरो आए, सास फेर्न अप्ठ्यारो भए, खोकी वा अन्य श्वासप्रश्वास सम्बन्धी समस्या आए स्वास्थ्य संस्था जानुपर्छ । अस्पताल जाँदा अनिवार्य मास्क लगाउनुपर्छ । मास्क नभए नाक–मुख रुमालले छोप्नुपर्छ ।

को बस्ने ?

१. वैदेशिक यात्रा गरेर नेपाल फर्किएका व्यक्ति।

२. कोरोना भाइरसबाट संक्रमित व्यक्तिको नजिक भएकाले पछिल्लो सम्पर्क भएको मितिले १४ दिन ।

३. कोरोना भाइरसको संक्रमितसँग नजिकिएको शङ्का लागेका व्यक्ति ।

४. चीन, इरान, दक्षिण कोरिया, इटाली, युएई, जापान जस्ता अत्यन्तै जोखिमयुक्त देश हुँदै नेपाल आएका व्यक्ति ।

५. आशङ्का गरिएका व्यक्तिलाई संक्रमणका लक्षण देखा परे प्रत्यक्ष सम्पर्कमा आएका र बिरामीको हेरचाह गर्ने पनि क्वारेन्टाइनमा बस्नुपर्छ । तर, परिवारका कोही सदस्य क्वारेन्टाइनमा बस्दा सबै जना बस्नु पर्दैन ।

इटालीले आफ्ना ६ करोडभन्दा बढी नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । इटालीसहित अष्ट्रेलिया र दक्षिण कोरियाले सेल्फ क्वारेन्टाइनको निर्देशन पालन नगर्नेलाई दण्ड गर्ने कानून बनाएको छ । हाम्रो देशमा भने समूहमा भेला भएर गरिने क्रियाकलापलाई निषेध गर्न अनुरोध मात्र गरिएको छ । यस्तो वेला हामी आफैं सचेत भए संक्रमणको जोखिम कम गर्न सकिन्छ ।

कसरी बस्ने ?

१. सकेसम्म सबै सुविधा भएको एउटै कोठामा बस्नुपर्छ । घरका सम्पूर्ण कोठाको उपयोग गरिए संक्रमण देखिएको खण्डमा पूरै घर सफा गर्नुपर्छ ।

२. सिङ्गो घरमा एक्लै क्वारेन्टाइनमा बसे बाहिरी दुनियाँसँग निरन्तर फोन र मेसेज सम्पर्कमा रहनुपर्छ । यदि दीर्घकालीन रोगी भए अस्पताल वा चिकित्सकसँग सोझे फोन सम्पर्कमा रहनुपर्छ ।

३. संक्रमणको आशङ्कामा रगतको जाँच गरेर रिपोर्ट आउँदासम्मलाई घर पठाइएको भए निश्चित कोठामा मास्क लगाएर सकेसम्म परिवारका सदस्यबाट टाढा बस्ने । अलग बाथरुम र शौचालय प्रयोग गर्ने ।

४. घरपालुवा पशुपक्षीबाट टाढा बस्ने (हङकङमा मानिसबाट कुकुरलाई कोभिड—१९ सरेको थियो ।)

५. परिवारका सदस्यभन्दा बाहेकलाई घरमा आउन नदिने ।

६. स्वास्थ्य जाँचका लागि नजिकको अस्पतालमा फोन गरेर सम्पूर्ण जानकारी गराएर मात्र जाने, जसकारण अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षित ढङ्गले उपचार गर्ने तयारीका लागि समय मिल्छ ।

७. लक्षण देखिनासाथ मास्क लगाउने, हाच्छिउँ गर्दा, खोक्दा आफ्नो मुख नाकलाई कपडा वा पेपरले छोप्ने । छोप्दा प्रयोग भएका वस्तुलाई बन्द फोहोर फ्याँक्ने भाँडोमा फाल्ने र २० सेकेन्ड लगाएर मिचेर हात धुने वा ह्यान्ड स्यानिटाइजरले सफा गर्ने ।

८. आफ्ना व्यक्तिगत लत्ताकपडा, भाँडाकुँडा, साबुन आदि अरूलाई चलाउन नदिने । आफूले छोएका घरको ताल्चा, चाबी, बरण्डाको डण्डी, टिभीको रिमोट, मोबाइल, कम्प्युटरको माउस, किबोर्ड आदि राम्रोसँग सफा गर्ने ।

९. जथाभावी नथुक्ने, सिंगान नफाल्ने, फालेको पनि आफैंले सफा गर्ने ।

१०. धेरै जना एकै ठाउँमा क्वारेन्टाइनमा बस्नु परे खुला, धेरै कोठा भएको, हावा आवतजावत हुने ठाउँको प्रयोग गर्ने ।

११ लक्षणहरूबाट विचलित नहुने, लक्षण बढेको खण्डमा तुरुन्त चिकित्सकको सल्लाह लिने ।

१२. क्वारेन्टाइनमा रहँदाको अवस्थामा नजिकैको प्रहरी, अस्पताल, रेडक्रस वा अन्य सामाजिक संघसंस्थाको फोन नम्बर सुरक्षित राख्ने ।

आत्मबल बढाउने तरिका

१. परिवारका सदस्यसँग निरन्तर कुराकानी गर्ने । समाचारका लागि आधिकारिक सञ्चारमाध्यम पछ्याउने । सामाजिक सञ्जालमा आउने कतिपय भ्रामक समाचार नपढ्ने ।

२. परिवारका कम उमेरका सदस्यलाई सम्भावित संक्रमण विरुद्ध हौसला प्रदान गर्ने । दैनिक क्रियाकलाप सामान्य रूपमा गर्न प्रोत्साहित गर्ने ।

३. साथीभाइ, नातागोतासँग निरन्तर फोन तथा मेसेजमा कुरा गरिरहने ।

४. योग, ध्यान, कसरत दैनिक गर्ने । घरको प्यासेज, छत वा आँगनमा केही समय हिंड्ने र स्वच्छ हावा लिने ।

५. घरमै बसेर अनलाइनबाट गर्न मिल्ने कार्यालयको काम गर्ने ।

६. क्वारेन्टाइनको समयलाई सकेसम्म सदुपयोग गर्ने । जस्तै, पुस्तक पढ्ने, चित्र कोर्ने, वाद्यवादन आदि सिक्ने । 

सेल्फ क्वारेन्टाइनको १४ दिनसम्म कुनै लक्षण नदेखिए पुरानो दैनिकीमा फर्कन सकिन्छ । यदि त्यसका लागि ‘मेडिकल सर्टिफिकेट’ चाहिए अस्पताल वा काठमाडौंस्थित शुक्रराज ट्रपिकल अस्पतालमा सम्पर्क गर्नुपर्छ ।
himalkhabar.com बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता