
विराटनगर, ११ साउन । विराटनगर महानगरपालिकाले कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको आशंकामा महानगरपालिकाका अत्याश्यक वाहेकका केही सेवाहरु अर्को सूचना नआए सम्मका लागि बन्द गरेको छ ।
महानगरपालिका भित्र ९० बर्षीया बृद्धालाई र अस्पतालमा कार्यरत चिकित्सकहरुमा कोरोना संक्रमण देखिएपछि यसले महामारीको रुप नलियोस भनेर महानगरपालिकाले नगर स्तरीय कोरोना क्राइसिस मेनेजमेन्टको बैठक बसेर महानगरपालिका भित्रका अत्यावश्यक काम बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।
विराटनगरका स्थानीयहरु र अस्पतालका डाक्टरहरुमा संक्रमण भेटिन थालेपछि स्वास्थ्यकर्मीहरुनै असुरक्षित भएको हुनाले नगरवासीहरुले अनिवार्य मास्क प्रयोग गर्न महनगरपालिकाले आग्रह गरेको छ । यदि मास्क नलगाई घरबाहिर हिडेमा एउटा मास्क दिने अनि १० रुपैयाँ जरिवाना लिने मेयर पराजुलीले बताउनु भयो ।
उहाँले नगरपालिका भित्रका धेरै भीडभाड हुने भएकाले घरनक्सा पास गर्ने,सामाजिक सुरक्षा भत्ता वितरण तथा कार्ड नविकरण जस्ता सामान्य सेवा अर्को सूचना नआए सम्म बन्द गरिएको भए पनि अत्यावश्यक सेवा भने सुचारु गरिने बताउनु भयो ।
मेयर पराजुलीले समुदायमा संक्रमण फैलिए कडा लकडाउन गर्न सकिने बताउनु भएको छ । लक्षण भएका कोरोना संक्रमित भेटिन थालेपछि महानगरपालिकाले सवैलाई मास्क अनिवार्य गरेको छ ।
महानगरपालिकाले बजार भित्र अनुगमन गर्ने र कोरोना सम्बन्धी नियम पालना नगरेको पाइएमा आवश्यकता अनुसार कारवाही गर्न सक्ने बताएको छ ।
मेयर पराजुलीले धेरै भीडभाड हुने हाटबजार तत्काल संचालन नगर्ने र बजारमा निस्कदा पनि सामाजिक दुरी कायम गरेर निस्कन आग्रह गर्नु भएको छ ।
प्रतिकृया दिनुहोस्
About Maipokhari news
माइपोखरी न्यूज डटकम सम्बाददाता