भारतले आफ्नो भूमी दाबी गर्दै भन्यो- कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक


काठमाडाैं, १२ साउन । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ। गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो ।
जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै भारतको धार्चुला प्रशासनले भनेको छ, ‘बिभिन्न नेपाली गुट/समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस् । अतः यस प्रकारका कुनै सूचना तपाईहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।’
नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ । नेपाल सरकारले हालै कालापानी नजिक छाङ्‍रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरे पनि कालापानी वरसमेत नेपाली सुरक्षाकर्मीलाई नै जान दिएको छैन ।
आफ्नो मिचिएको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समावेश गरेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानीभन्दा तल आएर सुरक्षा तैनाथी बढाएको छ । पहिलेको भन्दा एक किलोमिटर वर नै भारतले छेकबार लगाएको छ ।
काली मन्दिर र महाकाली नदीको मुहान जान खोजेका व्यासको गागामा रहेका सशस्त्र र नेपाल प्रहरीलाई भारतीय सुरक्षाकर्मीले रोकेको छ । स्थानीय समेत यी क्षेत्रमा जान पाउँदैनन् । बरु गाडीका गाडी भारतीय सुरक्षाकर्मी नेपाली भूमितर्फ ओसारिएको स्थानीय जनप्रतिनिधिहरु नै बताउँछन् ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली कौवा क्षेत्रमा जानेवित्तिकै भारततर्फबाट त्यहाँका सुरक्षाकर्मीले रेकी गर्ने गरेका छन् । भारतीय सुरक्षाकर्मीले नेपाली सुरक्षाकर्मीलाई कालापानी सहित कौवाको माथिपट्टी प्रवेश गर्न नदिन माथिकै आदेश आएको बताउने गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
माथिल्लो कौवा क्षेत्रसम्म पनि स्थानीयवासी अहिले जानलाई डराउने गरेका छन् । आफ्नै भूमि भएर जान पनि स्थानीयवासीमा अहिले त्रास छ । सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालका तीन गाउँ कुटी, गुञ्जी र नावी अहिले पनि भारतमा छन् ।
विगतमा नेपालका सुरक्षाकर्मी र स्थानीय बासिन्दा कालापानी क्षेत्रको दक्षिणी किनारासम्म आवतजावत गर्ने गर्थे । कालापानीमा निर्माण गरिएको काली मन्दिर र महाकालीको नक्कली मुहानसम्म गत वर्षसम्म छाङ्गरुका स्थानीय जाने गरेका थिए । अहिले सो क्षेत्रमा समेत नेपाली र नेपाली सुरक्षाकर्मीलाई प्रवेश गर्न दिइने गरेको छैन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता