प्रदेश २ : भेन्टिलेटर अभावमा मृत्युवरण गर्दै संक्रमित, तीन सरकारी अस्पतालमा मात्र भेन्टिलेटर


जनकपुरधाम, १२ साउन । धनुषाको एक कोरोना संक्रमितको आइतबार मृत्यु भयो । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा शनिबार उपचारका लागि भर्ना भएका शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ वर्षीय युवकको आइतबार मृत्यु भयो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई रेफर गरिएको थियो । थप उपचारका लागि उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखे पनि प्रादेशिक अस्पतालमा उउपलब्ध दुइवटा भेन्टिलेटर खाली नहुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेका थिए ।
गत वैशाखदेखि नै प्रदेश दुईमा कोरोना संक्रमितको चाप बढ्दै गईरहेको छ भने कोरोनाकै कारण प्रदेश दुुईमा १३ जनाको मृत्यु भइसकेको छ । प्रदेश दुईमा सबैभन्दा बढी पर्सामा ६ जना, बारा र रौतहटमा २/२ जना तथा महोत्तरी, धनुषा र सप्तरीमा १÷१ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेश दुईमा ३९ भेन्टिलेटर
कोरोना संक्रमण भएका गम्भीर अवस्थाका बिरामीको उपचारका लागि भेन्टिलेटर र आईसीयू आवश्यक पर्छ । प्रदेश दुईका आठ जिल्लामध्ये तीन जिल्लाको सरकारी अस्पतालमा मात्रै भेन्टिलेटर छ ।
वीरगञ्ज र जनकपुरधामका सरकारी अस्पतालमा मात्र आईसीयू छ । प्रदेश दुईमा सरकारी अस्पताल निजी अस्पताल मिलाएर कुल ३९ वटा भेन्टिलेटर रहेको छ ।
प्रदेश दुईमा सबैभन्दा बढी निजी स्तरमा सञ्चालित पर्साको नेशनल मेडिकल कलेजमा २५ वटा भेन्टिलेटर रहेको छ । निजी स्तरमै सञ्चालित जनकपुरधामको जानकी मेडिकल कलेज संग ५ वटा भेन्टिलेटर रहेको छ ।
सरकारी स्तरमा संचालित अस्पतालहरुमा प्रदेश दुईमा सबैभन्दा बढी ४ वटा भेन्टिलेटर सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छ । तर, त्यहाँ आईसीयू छैन । आइसीयु नभएका कारण त्यहाँको भेन्टिलेटर प्रयोगविहीन छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झा भन्छन्, ‘आईसीयू र भेन्टिलेटर दुबै एकसाथ भए मात्र अक्सिजनको मात्रा कम देखिने बिरामीको उपचार गर्न सकिन्छ ।’
प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा दुईवटा मात्रै भेन्टिलेटर छ । बरिष्ठ जनस्वास्वास्थ्य प्रशासक झाका अनुसार जनकपुरधाममा कम्तीमा ५ वटा भेन्टिलेटर आवश्यक छ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा ३ वटा भेन्टिलेटर छ ।
कमिशनमा कुरा नमिल्दा फेरि टेण्डर आह्वान गरिदै
प्रदेशमा भेन्टिलेटर अभाव रहेको विषयलाई लिएर सरकारको आलोचना हुन थालेपछि गत वैशाख ८ गते प्रदेश दुईको मन्त्रिपरिषद बैठकबाट ५० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो ।
भेन्टिलेटर खरिद गर्नका लागि प्रदेश सरकारले प्रत्येक जिल्लामा भेन्टिलेटर सहितको आइसीयु कक्षको व्यवस्था गर्नका लागि रकम समेत निकासा गरिसकेको छ । प्रदेश सरकारले भेन्टिलेटर खरिद गर्नका लागि निर्णय गरेको दुई महिना बितिसक्दा समेत किन्न सकिएको छैन ।
हुनत प्रदेश दुुईको सामाजिक विकास मन्त्रालयले गत असार ११ गते टेण्डर आह्वान गरेको थियो । यद्यपि प्रदेश सरकारले भेन्टिलेटर खरिद गर्ने नाउँमा करोडौको भ्रष्टाचार गर्न लागेको केही सञ्चारमाध्यममा समाचार बाहिरिएपछि टेण्डर नै रद्द भएको बताइएको छ ।
सामाजिक विकास मन्त्रीका छोराले टेण्डर भरेको काठमाडौँको एक संस्थासंग भेन्टिलेटर खरिद गर्ने प्रकृयामा कमिशनसम्मको कुरो निक्र्यौल लगाई सकेको मन्त्रालयकै एक अधिकारीले बताए । यद्यपि यी समाचारहरु बाहिरिएपछि टेण्डर नै रद्द गरिएको थियो ।
हुनत सामाजिक विकास मन्त्री नवलकिशोर साहले कुनै संस्थाको दरखास्त नपरेकाले फेरि टेण्डर आह्वान गर्न लागिएको बताए ।
न्युज२४ नेपालबाट साभार 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता