झापामा सञ्चालित एउटा पीसीआर प्रयोगशाला बन्द, अर्को अझैँ सञ्चालनमा आएन

झापा, १७ भदौ । पछिल्लो समय झापामा समुदायस्तरमै कोरोना संक्रमित भेटिन थालेका छन् । यस्तो अवस्थामा पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने भएपनि स्थापना भएका प्रयोगशाला भने सञ्चालन हुन सकेका छैनन् ।

जसका कारण संकलित स्वावको रिपोर्ट आउन एक साता सम्म कुर्नुपर्ने बाध्यता छ ।झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा गत साउन २६ गतेदेखि कोभिड–१९ को पीसीआर परीक्षण गर्न प्रयोगशाला सञ्चालनमा आयो ।

तर एक महिना पनि सञ्चालन नहुँदै पीसीआर परीक्षण बन्द भएको छ । पीसीआर प्रयोगशालामा चाहिने ‘प्लेट कभर’ सकिएपछि गत शनिबारबाट सेवा बन्द भएको हो ।

‘प्रयोगशालामा चाहिने आरएनए एक्स्ट्राक्सन र पीसीआर किट स्टकमा छ, तर प्लेट कभर नहुँदा समस्या भएको हो’ मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा।पिताम्बर ठाकुरले भने, ‘स्विस सरकारले उपलब्ध गराएको अत्याधुनिक पीसीआर मेसिन भएकोले त्यहीँ कम्पनीको प्लेट कभर चाहिनेरहेछ, हामीले माथि ९मन्त्रालय० समेत जानकारी गराईसकेका छौँ, आशा गरौँ चाडैँ आउछ ।’

यस्तै, समुदायस्तरबाट संकलित रकमबाट कन्काई नगरपालिकाको कोटिहोममा पीसीआर प्रयोगशाला स्थापना भयो । प्रयोगशाला सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृति प्रदान गरिसकेको भएपनि अझैँ सञ्चालनमा आउनसकेको छैन ।

प्रयोगशाला भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल मातहत रहने गरी सञ्चालन हुने भनिएपनि कार्यविधि र जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकेको अस्पतालका मेसु ठाकुरले बताए ।

पछिल्लो तथ्याङ्कअनुसार झापामा कोरोना संक्रमितको संख्या पाँचसय नाघिसकेको छ भने २ जनाको मृत्यु समेत भइसकेको छ । जिल्लामा सुरक्षाकर्मीसँगै ‘कन्ट्रयाक ट्रेसिङ्ग’ मा समेत नपरेका समुदायका मानिसहरुमा संक्रमण पुष्टि भएको छ । जसले गर्दा स्थानीय प्रशासन तथा विभिन्न तहहरुले सम्बन्धित क्षेत्रमा निषेधाज्ञा जारी गरी धमाधम पीसीआर संकलन गरिरहेका छन् ।

विभिन्न स्थानमा संकलित स्वाब पिसीआर परिक्षणका लागि धरान र विराटनगरको प्रयोगशालामा लैजानुपर्ने बाध्यता छ । संकलित स्वाबको रिपोर्ट आउन झण्डै एक साता लाग्ने भएकाले झनै समस्या भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौम्लागाईँले बताए ।

‘हाम्रो प्रयोगशाला बन्द भएपछि संकलन गरिएको स्वाब कोडिनेसन गरेर विराटनगर, धरानका प्रयोगशाला पठाइरहेका छौँ’ उनले भने, ‘समुदायमा केश देखिएपछि त्यसलाई व्यवस्थापन गर्न हामीलाई गाह्रो परिरहेको छ ।’

झापामा १८ दिन सञ्चालन भएको पीसीआर प्रयोगशालाले २ हजार ५ सय ७६ जनाको स्वाब परीक्षण गरेको थियो । खासगरी अस्पतालमा भर्ना भएका बिरामी र तत्काल कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षण गर्न सहज भएको थियो ।

झापामा यी दुईवटा पीसीआर प्रयोगशाला सञ्चालन भएको खण्डमा झापासहित इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लाका बासिन्दाको पीसीआर परीक्षण गर्न छिटो र सहज हुन्छ ।

न्युज२४बाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment