कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु

तनहुँ, २८ असोज । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् । ९८ वर्षीय पुरुषको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौंस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

९८ वर्षीय बाबु बिरामी परेपछि चितवनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उहाँलाई काठमाडौं लगियो । उपचारका क्रममा उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना देखिएको थियो ।

योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । यस अगाडि ब्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment