इलामकाे पर्यटकीय स्थल श्रीअन्तुमा आठ महिनापछि चहलपहल बढ्यो, कोरोनाको जोखिम बढ्दै (भिडियाे सहित)


इलाम, २२ कात्तिक । इलामको पर्यटकीय स्थल श्रीअन्तुमा करिब आठ महिनापछि पर्यटकहरुको चहलपहल बढेको छ । कोरोना संक्रमणका कारण नेपाल सरकारले २०७६ चैत्र ११ गतेबाट लकडाउन शुरु गरेसँगै इलामको पर्यटकीय स्थल अन्तु पनि पर्यटक विहीन बनेको थियो ।
कात्तिक लागेसँगै अन्तुमा पर्यटकहरुको चहलपहल बढेको हो । नेपालको पहिलो झुल्के घाम हेर्नका लागि चर्चित स्थलको रुपमा रहेको अन्तुमा अन्य घुम्ने ठाउँहरु पनि प्रसस्तै रहेका छन् ।


झापाको चन्द्रगढीबाट अन्तु घुम्न आइपुगेका सञ्जय घिमिरे भन्छन्, ‘हामीले त कोरोना संक्रमण हुन नदिनका लागि सरकारले भनेको मापडण्ड अपनाएर आएका थियौँ । तर, यहाँ आइपुग्दा भौतिक दूरी कायम गर्न नसक्ने गरी मानिसहरुको भीड जम्मा भएको रहेछ ।’
उक्त भीडभाडले कोरोना संक्रमणको जोखिम बढाउन सक्ने उनको तर्क रहेको छ । उनले थप भने, ‘सरकारले नै सम्पूर्ण सवारी साधनहरु खोलिदिएपछि मानिसहरु त घुम्न आउने नै भए । स्थानीय सरकारले अनुगमन गरेर भीड नियन्त्रण गर्न जरुरी देखिएको छ ।’

अन्तुमा पर्यटक आउन थालेपछि अन्तुमा रहेका होटल तथा होम स्टेहरु पनि भरिभराउ हुन थालेका छन् । पर्यटकहरु आउन थालेपछि अन्तुमा रहेका होटल तथा होमस्टेहरुले सतर्कता अपनाएको माक्स तथा सेनिटाइजर प्रयोग गर्ने गरेको र सावुन पानीले हात धुने ठाउँ बनाएको अन्तु होम स्टे तथा होटल व्यवस्थापन समितिका सचिव रुद्ध घिमिरे बताउँछन् ।
अन्तुमा रहेको अन्तुपोखरी घुम्ने मानिसहरुको पनि भीडभाड बढेको छ तर, पोखरीमा डुंगा सञ्चानमा भने आएको छैन । प्रक्रिया मिलाएर डुंगा पनि सञ्चानमा ल्याइने व्यवस्थापन समितिले जानकारी गराएको छ ।

अन्तुमा घुम्न आउने पर्यटकहरुले अहिले स्वास्थ्य मन्त्रालयले बताएको न्यूनतम स्वास्थ्य मापडण्ड समेत पालना नगरेको देखिन्छ र नगरपालिकाले पनि ठाउँठाउमा सावुन पानी नराखेको देखिन्छ ।
कोरोनाको कहरले ठप्प भएको व्यवसाय सञ्चानमा आउँदा पर्यटन व्यावसायीहरु त खुसी छन् तर, व्यवसायसँगै कोरोना संक्रमणको महामारी फैलने त्रास पनि उत्तिकै रहेको छ । पर्यटकहरुको व्यवस्थापनामा सूर्योदय नगरपालिकाले समयमै ध्यान नदिने हो भने रोग संक्रमको खतरा अन्तुमा बढेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment