ओलीको तानाशाही प्रवृतिलाई जनताको बलबाट ध्वस्त पार्ने झलनाथ खनालको चेतावनी


काठमाडौं, १५ पुष । नेकपाको प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको तानाशाही प्रवृतिलाई जनताको बलबाट ध्वस्त पार्नुपर्ने बताउनुभएको छ ।बुधबार बागमती प्रदेशको अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले जनताको शक्तिलाई परिचालन गरेर प्रधानमन्त्री ओलीको प्रतिगमनलाई ध्वस्त पार्नुपर्ने बताउनुभएको हो ।

उहाँले नेपालमा रहेको एक सय वर्षको राणा शासन, पञ्चायती शासन र ज्ञानेन्द्र शाहलाई जनताको बलमै पराजित गरेको भन्दै यसलाई पनि जनताको बलबाट ध्वस्त पार्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै नेता खनालले मुलुकमा स्थायित्व कायम गर्न संविधानमा पाँच वर्षसम्म संसद विघटन गर्न नसक्ने व्यवस्था गरेको भन्दै उहाँले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नरहेको दाबी गर्नुभयो ।

प्रधानमन्त्रीले संविधानको बलात्कार गरेर संविधानको मर्म र भावना विपरित संसद विघटन गरेको भन्दै लोकतन्त्र र संविधानलाई बचाउनुपर्नेमा जोड दिनुभयो । संविधान र लोकतन्त्रको रक्षा गर्न नसके अस्थिरतातर्फ देश धकेलिने भन्दै उहाँले यसका विरुद्धमा लड्नुपर्ने अवस्था आएको बताउनुभयो ।

त्यस्तै नेता खनालले प्रधानमन्त्री ओलीको प्रतिगामी प्रवृति लोकतन्त्र र आम जनताको इच्छा र आकांक्षा विपरित रहेको भन्दै जनताको बलिदानबाट प्राप्त उपलब्धि रक्षा गर्न अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले बालुवाटारमा गरिएको ओली पक्षको भेला संविधान र लोकतन्त्र विरोधीको भेला भएको समेत टिप्पणी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment