ट्रम्पका समर्थकद्वारा संसद भवनमा आक्रमण : गोली लागेर एक महिलाको मृत्यु, वासिङ्टनमा कर्फ्यू


एजेन्सी, २३ पुष । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले सुरक्षा तारबार भत्काएर संसद भवन छिरेर तोडफोड गरेका छन् ।  अमेरिकी राष्ट्रपति जो बाइडेन विजयी भएको घोषणा गर्न संसद बसिरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका थिए ।

उनीहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए । प्रदर्शनकारी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेका छन् । साेहि क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको छ ।

संसद सदस्यहरुले गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने क्रम सुरु गरेका बेला हतियारधारी ट्रम्पका समर्थकले प्रदर्शन तथा आक्रमण गरेका हुन् ।

भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लिएका थिए । परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ।


वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन् । बाइडेन राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने प्रक्रिया केही समयका लागि स्थगित भएको छ ।

ट्रम्पले आफ्ना समर्थकको गतिविधिको बचाउ गर्दै प्रमाण बिहीन आरोप लगाएका छन् । आफूले जितेको चुनाव धाँधली गरेर खोसिएका कारण यस्तो भएको दाबी उनले गरेका छन् ।

ट्रम्पले बिना प्रमाण लगाएको धाँधलीको आरोपका कारण प्रदर्शनले हिंसात्मक रुप लिएको हो । उनले आफ्ना समर्थकलाई घर फर्किन भने पनि प्रमाण बिहीन आरोप भने लगाएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment