पत्रकार शिवाकोटीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा


काठमाडौं । पत्रकार अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा नेपाल प्रेस युनियनका महासचिवसमेत रहेका शिवाकोटीले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

शिवाकोटी दोलखा जिल्लाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेका छन् । शिवाकोटीले दुई दशक भन्दा बढी समय सक्रिय पत्रकारितामा बिताएका छन् ।

उनी २०६२–६३ को जनआन्दोलनका क्रममा आन्दोलनको दृश्य सबै भन्दा पहिले कैद गर्न पुग्ने पत्रकारका रुपमा चिनिन्थे भने पछिल्लो समय तत्कालिन सभामुख कृष्णबहादुर महरा र गोगुल बाँस्कोटाको विषयको समाचार ब्रेक गरेपछि चर्चामा रहँदै आएका छन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले खुला, खसआर्य तथा भूगोल क्षेत्र मध्ये कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने बताएका हुन् । उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले पत्रकारिताको सक्रिय जीवनबाट अलग भएर राजनीतिमा होमिए पनि आफू सञ्चार उद्यमीका रुपमा भने सक्रिय रहिरहने बताए ।

शिवाकोटीले महाधिवेशन प्रतिनिधिहरुलाई विवेक प्रयोग गरेर नेतृत्व चुन्नसमेत आग्रह गर्दै आफू महाधिवेशनपछि प्रेस युनियनसहित पत्रकारिताको राजनीतिमा नफर्कने पनि स्पष्ट पारे ।

शिवाकोटीले दोलखाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुअघि सबै समूहको साझा उम्मेदवारका रुपमा माया पाएको भन्दै केन्द्रको महाधिवेशनका लागिसमेत सबै शीर्ष नेतृत्वको समर्थन पाउने अपेक्षा राखेको बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment