खर्च तिर्न नसक्दा अस्पतालबाट हामफालेर आत्महत्या



विराटनगर । विराटनगरस्थित गोल्डेन अस्पतालबाट हाम फालेर एक जना विरामीले आत्महत्या गरेका छन् । शुक्रबार (आज) मोरङको धनपालथान गाँउपालिका–१ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले उपचार गरेको खर्च तिर्न नसकेपछि हस्पिटलको तीन तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

गोल्डेन अस्पतालले मण्डललाई उपचार गरेको रकम नतिरेको भनेर तीन दिनदेखि घर जान नदिएको उनका आफन्तले बताएका छन् । छारे रोग र मानसिक समस्या भएपछि मंसिर ३ गते उनलाई उपचारको लागि गोल्डेन अस्पताल ल्याइएको थियो ।

अस्पतालले आईसीयूमा राखेर उपचार गरेको थियो र वार्डमा सारेपछि मंसिर ७ गते घर लैजान भनेर अस्पतालले मण्डललाई डिस्चार्ज दिएको थियो । मण्डलको उपचारमा लागेको २१ हजार रुपैया तिर्न नसक्दा परिवारले मण्डललाई घर लैजान सकेका थिएनन् ।

अस्पतालमा जम्मा ३८ हजार खर्च भएको मा १७ हजार मात्र परिवारले तिरेको बताएका छन् । अस्पतालमा उपचार गराइरहेका मानसिक रोगीसमेत रहेका मण्डलले तीन तलाबाट हामफालेर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।

हामफालेपछि मण्डलको टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेको थियो । अस्पतालको आकस्मिक कक्षमा पु-याउँदा उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।

मृतकका आफन्तहरुले उपचारमा लागेको पैसा नतिरेसम्म घर लैजान नदिने भनेर अस्पतालले जान नदिएको र अस्पताललको लापरवाहीका कारणले नै मण्डलले आत्महत्या गरेको बताएका छन् । यसरी अस्पतालमा उपचारको पैसा तिर्न नसकेर आत्महत्या गरेको यो पहिलो घटना भने होइन ।

महंगा र निजी अस्पतालमा विरामी जाने र पैसा तिर्न नसक्दा आत्महत्या गरेका धेरै घटनाहरु छन् । मृतकका आफन्तहरुले अस्पतालको लापरवाहीका कारण घटना भएकाले उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । मृतक मण्डलका एक छोरा र एक छोरी छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment