देशभर ६४ प्रतिशत मतदान भएको आयोगको प्रारम्भिक अनुमान

३० बैशाख २०७९, शुक्रबार


काठमाडौं । निर्वाचन आयोग नेपालले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको र यो संख्या बढ्न सक्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै निर्वाच्न आयोग नेपालका प्रमुख निर्वाच्न आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताए । उनले अझै केही स्थानमा मतदान कार्य जारी रहेकोले यसमा बढोत्तरी हुनसक्ने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले अपेक्षा गरेअनुसार मतदान हुन नसकेको बताए ।

उनले सबैभन्दा धेरै मतदाता रहेको काठमाडौंमा समेत ५२ प्रतिशत मात्रै मत खसेको बताए । उनले अहिलेसम्मको तथ्यांकअनुसार १८ वटा मतदान स्थलमा मतदान स्थगन भएको र एकैचरणमा निर्वाचन गर्नुपरेको कारण चाहेजति सुरक्षा नभएको हो कि भन्ने भान भएको बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रकृतिको असहजताका कारण केही हिमाली जिल्लाहरु, दुर्गम जिल्लाहरु आवागमनमा अफ्ठ्यारो भएकाले भोलि मात्रै हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्ने गरी आवश्यक व्यवस्था मिलाइएको बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘आज विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म सम्पन्न भएको स्थानीय तह सदस्यको निर्वाचनमा आम रुपमा यो निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले विश्वास लिएको छ । आज निर्वाचनको दौरानमा विभिन्न जिल्लाहरुमा विभिन्न किसिमका छिटपुट घटना र केही ठाउँहरुमा अप्रिय घटनाहरु पनि भए । यसको कारणले आज सबै तहको स्थानीय निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षाकाबाबजुद अहिलेसम्म १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगन भएको अवस्था छ ।’

उनले थपे, ‘राजनीतिक दल राजनीतिक दल तथा उम्मेदवारका बीचमा भएको आपसी विवाद सानो विषयमा पनि झाँगिदै जाने र अन्ततो गत्वा त्यसले उग्ररुप लिएको स्थितिका कारण केही ठाउँहरुको प्रहरीद्वारा बल प्रयोग गर्नुपर्ने अवस्था र अलिकति आज मौसमको प्रतिकुलताका कारण केही स्थानीय तहमा सबै मतदाताहरुले सहभागी हुन नसकेको स्थिति यी स्थानमा सम्बन्धित मतदान अधिकृतहरुले निर्वाचन स्थगन गर्नुभएको छ । स्थगन गरेका मतदान केन्द्रहरुमा हामीले सम्बन्धित निर्वाच्न अधिकृतको कार्यालय र आयोगसँग समन्वय गरेर त्यहाँको वस्तुस्थिति समेतको आधारमा हामी छिटै पुनः मतदानको प्रारम्भ गर्नेगरी आवश्यक तयारी गरिरहेका छौँ ।’

उनले फेरि भने, ‘प्रकृतिको असहजताका कारण केही हिमाली जिल्लाहरु, दुर्गम जिल्लाहरु आवागमनमा अफ्ठ्यारो भएका जिल्लाहरुमा भोलि नै हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । शान्तिपूर्ण रुपमा मतदान भएको स्थानबाट अहिले सबै मतपेटिका सील गरेर सम्बन्धित प्रतिनिधिहरुसहित क्रमशः निर्वाचन अधिकृतको कार्यालयतिर ढुवानी गर्ने प्रक्रिया प्रारम्भ भएको छ भने केही ठाउँमा मतगणना जारी रहेको छ । आज यसबेलासम्म ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ । यसमा बढोत्तरी पनि हुनेछ । निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने हामीलाई लागेको छ । यसका कारणहरु पहिल्याउन बाँकी नै छ ।’

त्यस्तै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग सुरक्षा व्यवस्था र राजनीतिक दलहरुको व्यवस्थाको बारेमा चिन्तित र सशंकित भएको बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment