इलाम २ उपनिर्वाचन: कुन दलबाट कस्ले पाउला टिकट ?


इलाम । इलामको क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि १५ वैशाखमा हुने उपनिर्वाचनका लागि आकांक्षी टिकट प्राप्तिका लागि सक्रिय रूपमा लागिपरेका छन् ।
सो निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसका नेता टिकट ल्याउने प्रतिस्पर्धामा लागेका छन् भने स्वतन्त्र उम्मेदवारले घोषणै गरिसकेका छन् ।


२०५६ सालदेखि नेम्वाङले निरन्तर जित हासिल गर्दै आएको सो क्षेत्रमा नेम्वाङका कान्छा छोरा सुहाङले पनि आकांक्षा व्यक्त गरेका छन् । सुहाङ पछिल्ला दिनमा राजनीतिक कार्यक्रममा सक्रिय रूपमा लागिपरेका छन् ।
राजनीतिमा त्यति सक्रिय नभए पनि बाबुकै बिडो थामेर अधिवक्ता बनेका सुहाङ राजनीतिमा पनि बाबुकै बिडो थाम्ने बताउँदै आएका छन् । उनले बुबाका सपना पूरा गर्न आफू जिम्मेवार बन्ने बताउँदै आएका छन् ।
सुहाङ बुबा सुवासचन्द्रको निधनपछि चर्चामा रहे पनि जिल्लामै रहेर राजनीति गरिरहेका एमाले इलामका उपसचिव रवीन्द्र सुवेदी पनि उम्मेदवारीका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । त्योसँगै सुवासकै स्वकीय बनेका बुद्धि खनाल पनि टिकटको दौडाहामा रहेका छन् । जिल्लाबाट रवीन्द्र, बुद्धि, डा. देविक्षेत्री दुलालपनि मैदानमा छन । योसँगै स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको टिकट पाएर पनि खोसिएका नरेन्द्रनाथ भट्टराई पनि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
यता लामो समयसम्म एमालेले वर्चस्व जमाएको ठाउँलाई यसपटक कब्जा गर्ने दाउमा नेपाली कांग्रेस पनि लागिपरेको छ । २०७९ को निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले पराजित बनेका कांग्रेसका डम्बर खड्का नै पुनः उम्मेदवार बन्ने दौडाहामा छन् । तर, उनी सर्वसम्मत भने होइनन् । गत निर्वाचनमा टिकट लिन प्रतिस्पर्धामा रहेका भेषराज आचार्य पनि लागिरहेका छन् । कांगेस नेता केशव थापा मैदानमा छन् । तीन जनामध्ये कसले टिकट ल्याउने भन्नेमा प्रतिस्पर्धा चलिरहेको छ ।
उता राष्ट्रिय स्वतन्त्र पार्टी पनि जित हासिल गर्न अहिलेदेखि नै लागिपरेको छ । रास्वपाले त्यहाँको वस्तुस्थिति अध्ययन गर्न पार्टीका केन्द्रीय नेतालाई खटाएको थियो । उनीहरूले दिएको सुझावका आधारमा उम्मेदवार बनाउने तयारी गरिरहँदा जिल्लामा भने रमेश प्रसाईँको नाम चर्चामा छ भने स्वतन्त्र उम्मेदवारका रूपमा पत्रकार मिलन लिम्बूले उपनिर्वाचनमा उठ्ने घोषणा गरिसकेका छन् । यसै निर्वाचन क्षेत्रमा स्थायी बसोबास रहेका लिम्बू काठमाडौंमा रहेर पत्रकारिता गरिरहेका थिए भने उम्मेदवार बन्ने भएसँगै पत्रकारिताबाट अलग रहेको बताएका छन् । त्यस्तै हर्क साङपाङले पनि एक जनालाई तयारी गरेर उठाउने भन्दै सामाजिक सञ्जाल तताइरहेका छन् ।
लामो समयदेखि एमालेका उम्मेदवार विजयी बनेको यो क्षेत्रमा अब के हुन्छ भन्ने आँकलन गर्नै गाह्रो छ । इलामको कर्णाली भनेर उपनाम पाइसकेका क्षेत्र यसै निर्वाचन क्षेत्रमा पर्दछन् । एमाले र कांग्रेसमा उम्मेदवारको दाबी गर्ने नेताले टिकट नपाए रिस साँध्नेसम्मको खेल हुने विगतका निर्वाचनले देखाएको छ । अबको निर्वाचनमा एमालेमा पहिलेजस्तो सहज हुने देखिँदैन । यता कांग्रेसमा पनि गुटको कारण टिकट कसले पाउँछ र अर्को गुटको खेल के हुन्छ भन्ने टुंगो हुँदैन । पार्टीलाई जिताउनेभन्दा पनि व्यक्ति हराउन लाग्ने प्रवृत्तिका कारण चुनाव जित्न त्यति सहज छैन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment