३० वैशाख, काठमाडौं । बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमा उत्पन्न विवाद बढ्दै जाँदा काठमाडौंमा एक युवकको हत्या भएको खुलेको छ ।
काठमाडौं बत्तिसपुलतीस्थित कुमारी टोलमा मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति साढे ७ बजेतिर हत्या भएको थियो । हत्या आरोपमा पक्राउ परेकामाथि अनुसन्धान गर्दा सामान्य निहुँमै हत्या भएको खुलेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शनिबार राति बाटो हिँड्दा ठोक्किएको निहुँदामा ४ जना किशोरसँग धिमालको विवाद भएको थियो । त्यही विवादपछि किशोरको समूहले चक्कु प्रहार गरी हत्या गरेको पाइएको एसपी अधिकारीले बताए ।
धिमालको हत्या आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ परेका १८ वर्षभन्दा कम उमेरका रहेकाले प्रहरीले उनीहरूको नाम, ठेगाना सार्वजनिक गरेको छैन । उनीहरू साथीको जन्मदिनको भोजमा गएर फर्किएको पाइएको छ । mप्रहरीका अनुसार उनीहरूले मदिरा पिएका थिए । नशामा रहेको र ठोक्किएको निहुँमा विवाद बढ्दै जाँदा चक्कु हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी अधिकारीले बताए ।
‘मृतक र पक्राउ परेकाहरू बीच कुनै चिनजान पनि देखिँदैन । अन्य कारण पनि देखिँदैन । ठोक्किएकै निहुँमा हत्या भएको देखिन्छ,’ एसपी अधिकारीले भने ।
किशोरहरूको आक्रमणबाट धिमालसँगै रहेका मोरङकै मनिष चौधरी सामान्य घाइते भएका छन् ।
0 comments:
Post a Comment